रोयल्टी नतिर्ने रेडियो र टिभीले गीत प्रशारण गर्न नपाउने

काठमाडौं
गीत प्रशारण गरेबापत रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले अब गीत बजाउन नपाउने भएका छन् ।
आज शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन आह्वान गर्ने र रोयल्टी नतिरी बजाएको खण्डमा कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारवाहीको दायरामा ल्याइने बताए ।

संगीतकार संघले संगीतका सबै विधाहरु लोकदोहोरी, आधुनिक, पप, हिपहप लगायतका स्रष्टालाई समेत बोलाएर रोयल्टी नतिर्ने रेडियो र टिभीमा गीत बजाउन नदिनेबारे घोषणा गर्ने समेत तयारी गरेको छ ।
रोयल्टीमा आवद्ध सबै १८ सय जना स्रष्टामार्फत रोयल्टी नवीकरण गरेर मात्र गीत बजाउन आह्वान गरिनेछ ।

सांगीतिक संघसंस्थाबीच रोयल्टी नपाएसम्म रेडियो, टिभीमा नबजाउने सहमति भएको छ ।

यसैबीच, बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।

तीन रेडियो सम्बद्ध निकायले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै संगीतकार अधिकारीले फेसबुकमार्फत गालीगलौज गरेको भन्दै उनका सम्पूर्ण सांगीतिक कृति रेडियोबाट प्रसारण गर्न नसकिने निर्णय गरेका थिए ।
रोयल्टी संकलन समाजका अध्यक्ष समेत रहेका संगीतकार अधिकारीले स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया