उज्यालो भयो ओखलढुंगाको ककनीः ७० किलोवाटको सौर्य मिनीग्रिड संचालनमा

ओखलढुंगा

ओखलढुंगाको ककनीमा ७० किलोवाट क्षमताको सौर्य मिनीग्रिड आयोजना संचालनमा आएको छ ।
बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको आर्थिक एवं प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको लागत साझेदारी र स्थानीयवासीको सहभागितामा परियोजना सम्पन्न भएको हो ।

७० किलोवाट पिक क्षमताको ककनी सौर्य मिनीग्रिड आयोजनाबाट जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत पहुँच पुगेको छ ।

आयोजनाको कूल लागत ६ करोड ४२ लाख ८८ हजार रहेको छ । जस मध्य लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान र १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ ।

साउन १३ गते शनिबार सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको अध्यक्षतामा आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यता र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक श्री नवराज ढकालको विशेष आतिथ्यतामा आयोजनाको समुदघाटन भएको थियो ।

आयोजनाको समुदघाटन समारोहमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गुणस्तरीय आयोजना निर्माण भएकोमा खुसी व्यक्त गर्दै आगामी दुइ वर्षभित्र सबैमा विद्युत पहुँच पुर्‍यउने सरकारको लक्ष्य हासिल गर्न विद्युतीकरणको अभियानलाई देशैभर अघि बढाइएको बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो ।

आयोजनालाई ५ वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र ५ वर्षपछि स्थानीयतहलाई हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा. लक्ष्मण प्रसाद घिमिरेले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कमल तामाङले यस आयोजनाले ककनीका १७१ घरपरिवारमा विद्युत आपुर्तिले संचारको पहुँच सँगै शिक्षा, स्वास्थ्य, उद्यमशिलता विकासले दैनिकीमा निकै परिवर्त आउने भएकोले आयोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

सोही अवसरमा ऊर्जा सचिव घिमिरे सहितको टोलीले रामेछाप जिल्लाको सुनपाती गाउँपालिका–४ डहुमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्माण भएको सुनकोशी ग्रामीण सौर्य लिफट खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण समेत गरेको थियो ।

फोटा फिचर

प्रतिक्रिया