नागरिकको स्वास्थ्य प्रति गम्भिर बन्दै सरकारः मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने तयारी

काठमाडौं।

हाल विश्वभरनै मानसिक स्वास्थ्य समस्या जटिलरुपमा बढीरहको छ ।

सामाजिक तथा आर्थिक गतिविधिहरुको उतारचढाव, तनाव, रोग, महामारी र पारिवारीक विचलन लगायतका विविध कारणले मानिसमा विभिन्न मानसिक समस्या देखिरहेको छ ।

संचार माध्यम र सामाजिक संजालहरुमा समेत नकारात्मक सन्देश दिनेखालका सामाग्रीहरु बढी मात्रामा आइरहँदा आमजनमानसमा निराशा झनै बढेको देखिन्छ ।

विश्वव्यापीरुपमा बढीरहेको यो समस्या नेपालमा पनि उत्तिकै चुनौतीका रुपमा बढीरहेको छ । यही समस्यालाई मध्यनजर गर्दै यसको सम्बोधनका लागि सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साउन २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, विभागीय प्रमुखहरू तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरूको बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समन्वय गर्ने गरी यस कार्यक्रमको संयोजन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने छ ।

यस्तै विभिन्न विषयगत मन्त्रालयसहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति बनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टको अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरिएको छ ।

बैठकले विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता क्रियाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोगबारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न साथ र सहयोगको लागि सबै सरोकारवाला निकाय तथा सर्वसाधारणमा अपिल गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया