दोलखाको लामाबगरबाट आइतबार थप चार किलो सुन बरामद

रामेछाप ।
दोलखाको लामाबगरबाट प्रहरीले आइतबार थप चार किलो सुन बरामद गरेको छ ।
दोलखाको विगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो । लामाबगरको बस्ती भन्दा पारी डुङ्गाको ओडारमा लुकाई राखेको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।
चीनबाट दोलखाको लामाबगर हुँदै ठुलो परिमाणमा अवैध सुन तस्करी भएको आशंकामा प्रहरीले खोज तलास गर्दा लुकाइ राखेको सुन फेला परेको हो ।
दोलखा प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले असोज १० गतेदेखि लामाबगर क्षेत्रमा खोज अनुसन्धान जारी राखेको छ । सो क्रममा हालसम्म ११ किलो सुन फेला परेको छ ।
यस अघि असोज १० गते प्रहरीले तीन किलो सुन फेला पारेको थियो भने ११ गते थप चार किलो सुन फेला पारेको थियो । प्रहरीले दोलखाको विगु गाउँपालिका–३ जामुनेस्थित सिता तामाङको घरमा कोठा भाडा लिई बस्ने विगु गाउँपालिका–१ घर भएका २८ वर्षीय केशर तामाङको कोठाबाट १० गते चार किलो र १२ गते पुनः तीन किलो सुन बरामद गरेको थियो ।
घटनमा संलग्न स्थानीय सात जनालाई प्रहरीले हालसम्म पक्राउ गरेको छ । सुन तस्करीको नाइके भने अझै पक्राउ परेका छैनन् । प्रहरीले अहिले पनि लामाबगरमा नै रहेर सर्च गरिरहेको उनले डिएसपी खड्काले बताए ।

प्रतिक्रिया