भारतको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि योगदानः निधि

काठमाडौं ।

नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भारतमा गान्धीको नेतृत्वमा भएको अहिंसात्मक आन्दोलनमा नेपाली जनता र नेपाली नेताहरुले पनि योगदान दिएको बताएका छन् ।

आज १५४औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस–२०८० विशेष कार्यक्रममा उनले नेपालको योगदानको बारेमा छलफल नै नभएको भन्दै यसलाई पनि महत्व दिनुपर्ने कुरामा ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘भारतीय कार्यवाहक राजदूतमार्फत् एउटा सन्देश दिन चाहन्छु । गान्धीको नेतत्वमा भएको भारतको अहिंसात्मक आन्दोलनमा भारतीय जनताले सहभागिता देखाएकै थिए तर नेपाली जनता र नेपाली नेताहरुले पनि भारतीय आजादीमा योगदान गरेका थिए, भारतमा यो सन्देश जाओस् । भारतका राजनीतिज्ञले यसलाई महत्व दिने कुरा त छोड्दिनु याद पनि गर्दैनन् । भारतले हामीलाई लोकतन्त्र दिएको कुरा मात्रै हुन्छ तर हामीले पनि योगदान गरेको कुरा कसैले भन्दैनन् ।’

उनले सबै राजनीतिक दलहरुको साथ र सहयोगबाट देशमा परिवर्तन र संविधान आएको भन्दै यसको सफल प्रयोग गरेर यो प्रणालीलाई अझ सफल बनाउन शान्तिपूर्ण बाटोबाट अगाडि बढ्नु पर्ने बताए ।

उनले वीपी कोइरालाको पालामा नेपालमा सशस्त्र क्रान्ति भएर तत्कालीन रुपमा सफल भए पनि दीर्घकालीन रुपमा टिकाउ हुँदैन भन्ने कुराको प्रयोगात्मक परिणामको भूमि नेपाल नै भएको बताए ।

उनले भने, ‘वीपी कोइरालाको पालामा नै नेपालमा सशस्त्र mान्ति भएको हो । क्रान्ति सफल भएको इतिहास छ । क्रान्ति तत्कालीन रुपमा सफल भए पनि दीर्घकालीन रुपमा टिकाउ हुँदैन भन्ने कुराको प्रयोगात्मक परिणामको भूमि आफ्नै देश नेपाल नै हो । यसले पनि गान्धीको अहिंसात्मक बाटो अन्त्यमा ठिक हो भन्ने पुष्टि हुन्छ ।’

प्रतिक्रिया