विद्यार्थीलाई खोज अनुसन्धानमा प्रोत्साहित गर्न विज्ञान प्रदर्शनी

रामेछाप ।

विद्यार्थीमा रहेको क्षमतालाई प्रष्फुटन गरी विज्ञान प्रविधिको क्षेत्रमा खोज अनुसन्धान गर्न उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।
उमाकुण्ड गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले वृहत् माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो । सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्किएको आरोप लागिरहेको बेला विद्यार्थीले गरेको विज्ञान प्रदर्शनी निक्कै रचनात्मक र सिर्जनात्मक थियो ।

उमाकुण्ड गाउँपालिका वडा नं ४ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रीतिमा आयोजना गरेको प्रदर्शनी कार्यक्रममा गाउँपालिका भित्र रहेको सात वाट माध्यमिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीको उत्साहपूर्वक सहभागिता रहेको थियो । प्रदर्शनी कार्यक्रममा विद्यार्थीले निर्माण गरेका विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर, केबुलकार, रकेट, मन्दिर, पहाड, दूरबिन साथै कृषिसँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरण राखिएको थियो ।

प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग अभिरुचि राख्ने विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनी स्थलमा ७ वटा विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टल राखिएको थियो । पालिकाका ७ वटै माध्यमिक विद्यालयका विद्यार्थीले ७ वटा स्टलमा आफूले तयार गरेका सामाग्री प्रदर्शनीमा राखेका गाउँपालिकाको शिक्षा शाखाका ङावा शेर्पाले जानकारी दिए । प्रदर्शनीमा एउटा विद्यालयबाट चार जना विद्यार्थी सहित विषय शिक्षकको सहभागिता रहेको थियो ।
विज्ञान प्रदर्शनीमा उमाकुण्ड गाउँपालिका–२ बाम्तीको सिद्धेश्वर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरी चण्डेश्वरी माध्यमिक विद्यालय प्रीति दोस्रो र कास्थेम माध्यमिक विद्यालय भुजी तेस्रो भएका छन् ।
विज्ञान प्रदर्शनी कार्यक्रमले आगामी वर्ष अझ नयाँ उपकरणको प्रदर्शनी र विद्यार्थीको सृजनशीलतालाई अझै प्रोत्साहन गर्न अभिप्रेरित हुने विश्वास लिइएको शेर्पाले बताए ।

प्रतिक्रिया