नेपालको युवा शक्ति नै विकासको आधार हो : पूर्व अध्यक्ष कुरोदा

काठमाडौं ।

एसियाली विकास बैंकका पूर्व अध्यक्ष प्राध्यापक, हारुहिको कुरोदाले नेपालको युवा जनशक्ति नै विकासको आधार भएको बताएका छन्।
चीन,जापान,ताइवान,कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको भन्दै नेपालमा रहेको युवा शक्ति विकासका लागि प्रमुख आधार भएको बताए ।
इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको युवासंगको संवाद कार्यक्रममा कुरोदाले मानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गरे ।
उनले भने ‘नेपालसँगै दक्षिण एवम् दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या छैन् । मानव मस्तिष्कको उपयोगमा लाग्न म सुझाव दिन चाहान्छु । ’
नेपाली विद्यार्थीहरु विदेश गइरहेकोतर्फ सङ्केत गर्दै कुरोदाले चीन र भारत जस्ता मुलुकले विदेशिएका नागरिक फिर्ता बोलाएर आर्थिक प्रगती गरेको स्मरण गराए ।
‘पूँजी, प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ । छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ ।’उनले भने ।
एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा.विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिवद्धतासंगै अग्रसरता आवश्यक भएको बताए । सो अवसरमा सहभागी विद्यार्थीहरुले विश्व अर्थतन्त्र र त्यसबाट नेपाललाई पर्ने प्रभावका विषयमा राखेका जिज्ञासाको प्राध्यापक कुरोदाले जवाफ दिएका थिए ।

प्रतिक्रिया