}else{?>
काठमाडौं ।
प्रधान सेनापति प्रभुराम शर्माले, बेलायतमा भएको प्रतिस्पर्धात्मक एक्सरसाइज ‘क्याम्ब्रियन पेट्रोल’मा सहभागीलाई प्रमाणपत्र वितरण गरेका छन् ।
बेलायतको वेल्स, ब्रेकनस्थित सनेब्रिज ट्रनिङ एरियामा संचालन भएको सञ्चालन भईरहेको तालिममा सहभागि नेपाली सेनालगायत क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेनाका टोलीहरूलाई प्रधान सेनापतिले पदक तथा प्रमाण–पत्र वितरण गरेका हुन् ।
यहि असोज १९ गते आरम्भ भएको प्रतिस्पर्धात्मक अभ्यासमा सहभागी नेपाली सेनाको टोलीले रजत पदक प्राप्त गरेको छ ।
सो अभ्यासमा विशेष गरी पैदल फौजको पेसागत ज्ञान, सीप, रण कौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिन्छ ।
अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयावधिभित्र हतियार तथा ३२ के.जी. तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामाग्रीसहित करिब ६५ किलोमिटरको दुरी पुरा गर्नुपर्दछ । अभ्यासमा ७५ प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने टिमलाई स्वर्ण पदक, ६५ देखि ७४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई रजत पदक र ५५ देखि ६४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई कांस्य पदक प्रदान गरिन्छ ।
सन् १९६० बाट वार्षिक रूपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन २०१४ बाट भाग लिँदै आएको छ ।
यस वर्षको अभ्यासमा विभिन्न ३१ राष्ट्रका ३८ वटा अन्तर्राष्ट्रिय टिमका साथै कुल १११ वटा टिम सहभागी छन् । हालसम्म नेपाली सेनाको टोलीले उक्त प्रतिस्पर्धात्मक अभ्यासमा २ स्वर्ण, ३ रजत र २ कांस्य गरी कुल ७ पदक प्राप्त गरिसकेको नेपाली सेनाले जनाएको छ ।