}else{?>
काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा सफल टिम हो( अष्ट्रेलिया । अष्ट्रेलियाले पाँच पटक एक दिवसीय विश्वकप, एक पटक टी(२० विश्वकप, एक पटक च्याम्पियन्स ट्रफी र एक पटक वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।
वानडे विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टोली नै हो । त्यो उसले जितेको ५ उपाधिले पनि प्रमाणित गर्छ । लगातार तीन पटक वानडे विश्वकप जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाउने एक्लो टिम अष्ट्रेलियाले पछिल्लो पल्ट ८ वर्षअघि २०१५ मा विश्वकप उपाधि जितेको थियो ।
२०१९ को वान डे विश्वकपमा अष्ट्रेलिया सेमिफाइनलसम्म पुगेको थियो । तर अहिले अष्ट्रेलियाको टिमको प्रदर्शन उस्तै छैन ।
भारतमा जारी विश्वकपमा अष्ट्रेलियाले संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेलमा अष्ट्रेलिया पराजित भइसकेको छ । यसले टिममा धेरै कमजोरी देखिएको छ ।
पहिलो खेलमै भारतसँग ६ विकेटले पराजित भएको अष्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भयो । सुरुवाती दुई खेलमा कमजोर प्रदर्शनपछि अष्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन हुन सक्ने संकेत देखिएको छ ।
हुन त क्रिकेटमा केही भन्न सकिन्न । तर अहिलेको अष्ट्रेलियन टिम पहिले जस्तो जबर्जस्त देखिएको छैन ।
यद्यपि लगातार दुई हारपछि अष्ट्रेलियाका मुख्य प्रशिक्षक एन्ड्रु म्याकडोनाल्डले आफ्नो खेलाडीको बचाउ गर्दै उनीहरुले पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन् ।
मार्नुस लाबुसचेनले दुई हारले निराश भए पनि यसमै चिन्ता लिएर बस्न नहुने र पाँच पटकको च्याम्पियनले फेरि लयमा फर्कने र नकआउट स्टेजमा पुग्न सक्ने बताएका छन् ।
१० टोली सम्मिलित विश्वकपमा लिग चरणको खेलपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् ।
टिम सेलेक्सन र कम्बिनेसन
वान डे विश्वकप खेल्ने अष्ट्रेलियाको अहिलेको टिम सेलेक्सन पनि राम्रो नभएको कि भन्ने शंका उत्पन्न भएको छ ।
टिममा वार्नर बाहेक प्रोपर ओपनर छैनन् । लयमा रहेका ट्रेभिस हेड घाइते भएकाले मैदान उत्रिएका छैनन् ।
वार्नरसँग ओपनिङ गरेका मिचेल मार्शले वान डे मा विश्वकप अघि जम्मा ६ खेलमा ओपनिङ गरेका थिए ।
टेष्ट विशेषज्ञ मार्नुस लाबुसचेनले वानडे ब्याटिङ गरिरहेका छन् । जसले अष्ट्रेलिया खेलाडी चुकेको हो कि जस्तो देखिन्छ ।
अहिलेको अष्ट्रेलियन टिम कम्बिनेसन पनि पहिलेको टिम जस्तो देखिएको छैन ।
पहिलो खेलमा एलेक्स केरी विकेटकिपिङमा थिए । दोस्रो खेलमा जोस इङ्लिसले विकेटकिपङ सम्हालेका थिए । तर दुवै विकेटकिपर ब्याटिङमा जम्न सकेका छैनन् ।
पहिलो खेलमा अलराउण्डर क्यामरुन ग्रीन खेलेका थिए भने दोस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध मार्कुस स्टोइनिङ खेलेका थिए ।
अष्ट्रेलियाको टिममा सही कम्बिनेसनको अभाव देखिएको छ ।
कमजोर ब्याटिङ
सुरुवाती दुई खेलमा अष्ट्रेलियाले कमजोर ब्याटिङ गरेको छ । टी(२० मा जति पनि रन बनाउन नसकेको अष्ट्रेलिया दुवै खेलमा २०० भन्दा कम रनमै अलआउट भएको छ ।
भारत विरुद्ध पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ३ बल अगावै सबै विकेट गुमाएर १९९ रन मात्र बनाएको थियो । उक्त खेलमा कुनै खेलाडीले अर्धशतक बनाउन सकेनन् । स्टिम स्मिथले बनाएको ४६ रननै व्यक्तिगत उच्च रह्यो । यस्तै डेविड वार्नरले ४१ रन जोडेका थिए । बाँकीले ३० रनको आँकडा छुन सकेनन् ।
स्कोर नै थोरै भएपछि बलरले पनि धेरै गर्न सकेन । मिचेल स्टार्क र जोस हेजलउडले रोहित शर्मा, इशान किसन र श्रेयास अयेरलाई शून्यमै पभेलियन फर्काए पनि विराट कोहली र केएल राहुलले शानदार ब्याटिङ गरेपछि भारतले ४१।२ ओभरमा ४ विकेट गुमाएर २०१ रन बनाएको थियो । राहुलले ९७ र कोहलीले ८५ रन बनाए । दुवै नटआउट रहे ।
हेजलउडले ३ र स्टार्कले १ बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।
दोस्रो खेल दक्षिण अफ्रिका विरुद्ध अष्ट्रेलियाको ब्याटिङ झनै कमजोर भयो । लखनउमा ३१२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४०।५ ओभरमै १७७ रनमा अलआउट भयो । यस खेलमा पनि अष्ट्रेलियाको ब्याटरको व्यक्तिगत उच्च स्कोर ४६ नै थियो । जुन मार्नुस लाबुससेनको ब्याटबाट आएको थियो । त्यसबेहक मिचेल स्टार्कले २७ रन जोडेका थिए ।
अनुभवी ब्याटरहरु भए पनि अष्ट्रेलियाले त्यस अनुसारको प्रदर्शन देखाउन सकेको छैन । पूर्व कप्तान स्टिम स्मिथ डेविड वार्नर सबैभन्दा अनुभवी ब्याटर हुन् ।
यसबाहेक ग्लेन म्याक्सवेल, मिचेल मार्स र मार्कुस स्टोइनिस जस्ता ब्याटिङ गर्न सक्ने अलराउण्डर कंगारु टोलीमा छन् ।
तर उनीहरुले अपेक्षा अनुसारको प्रदर्शन देखाउन सकेका छैनन् । अष्ट्रेलियाको बलियो पक्षको रुपमा ब्याटिङ गहिराई नै काम गरेको छैन । जसले गर्दा अष्ट्रेलियाले ठूलो स्कोर बनाउन सकेको छैन ।
अनुभवी भए पनि अष्ट्रेलियाको ब्याटिङ लाइन अप अब पुरानो भएको छ । कहिलेकाहीँ अष्ट्रेलियाको ब्याटिङ निकै कमजोर हुन्छ । जुन यसअघिको दुई खेलमा देखिएको छ । उनीहरु महत्वपूर्ण समयमा विकेट गुमाउँछन् । दुई विकेटकिपर एलेक्स केरी र जोस इङ्लिस दुवैमा एडल गिलक्रिस्ट जस्तो चमक छैन ।
पेस बलरहरूले पनि आफ्नो उत्कृष्ट गुणका बावजुद, फ्ल्याट डेकमा रन बनाउन सक्छन् र ३३० भन्दा बढीको स्कोर पछ्याउन यो टोलीका लागि चुनौती हुन सक्छ।
स्पीनर अभाव
विश्वकप खेल्ने अष्ट्रेलियाली टिममा जम्मा एउटा स्पीनर छन् एडम जाम्पा । प्रतियोगिताअघि नै अष्ट्रेलिया स्पीन डिपार्टमेन्टमा कमजोर थियो ।
सुरुमा एस्टन एगर पनि टिममा रहे पनि चोटका कारण उनी टिमबाट बाहिरिसकेका छन् । उनको स्थानमा मार्नुस लाबुसचेनलाई टिममा बोलाइएको थियो । तर अर्को स्पीनर राखिएन ।
जाम्पालाई अलराउण्डर म्याक्सवेलले स्पीनमा सघाउने गरेका छन् । त्यसमा जाम्पा भन्दा म्याक्सवेल नै किफायती छन् । पहिलो खेलमा भारत विरुद्ध विकेट नलिए पनि किफायती म्याक्सवेलले ८ ओभरमा ३३ रन खर्चेका थिए ।
दोस्रो खेलमा भने दक्षिण अफ्रिका विरुद्ध म्याक्सेवल सबैभन्दा किफायती देखिएका थिए । जहाँ उनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर २ विकेट लिएका थिए ।
जाम्पाले पहिलो खेलमा ८ ओभरमा ५३ रन खर्चँदा दोस्रो खेलमा १० ओभरमा ७० रन खर्चेर जम्मा १ विकेट लिएका थिए ।
स्पेसलिस्ट बलर भन्दा म्याक्सवेलले राम्रो गरिरहनुले पनि अष्ट्रेलियामा मुख्य स्पीनरको कमी देखिएको छ ।
फिल्डिङमा पनि अष्ट्रेलिया चुस्त देखिएको छैन । दक्षिण अप्रिका विरुद्ध अष्ट्रेलियाले ६ क्याच छाडेको थियो ।
स्रोतः अनलाईनखवर