}else{?>
काठमाडौं ।
नेपालीहरुको महान पर्व बडादशैं आज घर घरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै नौरथा सुरु हुन्छ ।
नेपाल संञ्चाङ्ग निर्णयक समितिले यो वर्ष ११ बजेर २९ मिनेटमा घडा स्थापनको उत्तम साइत रहेको जनाएको छ । सो साइतमा घरघरमा वा दशैं घरमा घटस्थापना गरेपछि बडादशैं प्रारम्भ भएको हुन्छ । आज विधिवत रुपमा चोखोनिधो गरी दशैं घर वा पूजाकोठामा चोखो बालुवा या माटोमाथि जौ,वा मकै छरेर जमरा राखिन्छ ।
भगवान श्री रामचन्द्रले रावणमाथी विजय हासिल गर्ने उदेश्यले शक्तिप्राप्तीका लागी शक्तिस्वरुपा भगवतीको आह्वान गरेको सम्झनामा हिन्दुधर्मावलम्बीहरु आज घटस्थापना गर्ने गर्दछन् ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जौ छरेर जमरा उमार्ने र आज रोपेको जमरा विजया दशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ ।
दशैंको टिका लगाउँदा समृद्धिको प्रतिकको रुपमा पहेँलो जमरालाई प्रयोग गरिन्छ ।
घटस्थापनाको उपलक्ष्यमा आज हनुमान ढोका दरबारमा रहेको दशंैघरमा वैदिक बिधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी,महासरस्वती लगतायत नवदुर्गा र अन्य शक्तिपिठहरुमा नवरात्रीको पुजाको शु्भारम्भ हुन्छ ।
नवरात्रीभर घर तथा भगवतीका मन्दिरमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने, दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत गीता ,देवी स्तोत्रहरुको पाठ गर्ने प्रचलन छ ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, पलाञ्चोक भगवती,नाला भगवती, मनकामना, छिन्नमस्तालगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ ।