मृतक आरती शाहको न्याय माग गर्दै वृहत नागरिक आन्दोलन सडकमा 

काठमाडौं ।

वृहत नागरिक आन्दोलनले, मृतक आरती साहको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको माइतीघरमा मृतक साहको हत्या भएको भन्दै अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । 

विरोध प्रदर्शनमा सहभागीहरूले दण्डहीनताको अन्त्य गर, आरती साहलाई न्याय पीडितमाथिको राज्य आतंक बन्द गर , न्याय नपाए कहाँ जाने ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

विरोध प्रदर्शनमा वृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले आरती शाहको परिवारहरू न्यायको माग गर्दै १२२ दिन देखि धर्ना बसिरहँदा पनि सरकारले वेवास्ता गरेको भन्दै पीडितहरूको न्यायप्रप्तिको आन्दोलनमा ऐक्यवद्धता जनाउन आफूहरू आन्दोलनमा सहभागी भएको बताए । 

उनले भने,‘ आरती साहको जुन हत्या भयो उहाँको परिवारहरू झण्डै १२२ दिन देखि धर्ना बसिरहनु भएको छ ।

तर उहाँको कुरा सरकारले सुनिरहेको छैन् । आम नागरिकहरु मलाई अन्याय भयो पीडा भयो भनेर बस्छ भने सरकारको काम सुन्नु हो ।

उनीहरूसँग वार्ता गर्नु हो । बेला बेलामा वार्ता गर्न बोलाउँछ तर बाचा पुरा गर्दैन। त्यसैले उहाँहरुको न्यायप्राप्तिको जुन आन्दोलन छ त्यसमा ऐक्यवद्धता जनाउन हामी आएका हौं ।’
 
उनले जबसम्म पीडितहरुले न्याय पाउदैनन् तबसम्म आफूहरूले पीडितलाई सघाइरहने बताए। 

विगत १२२ दिनदेखि मृतक आरती साहको परिवार न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसी रहेका छन् । 

प्रतिक्रिया