}else{?>
विराटनगर ।
औद्योगिक कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तु निकासीका लागि सहयोग पुग्ने गरी सुरु गरिएको भारत–नेपाल कार्गो रेल सेवाले निरन्तरता पाउन सकेको छैन । यसले गर्दा पूर्वको औद्योगिक क्षेत्रले आशा गरेअनुसार लाभ लिन नसकिएको उद्योगीहरुको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले गत जेठ १८ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा कार्गो रेलको उद्घाटन गरेका थिए ।
भारतको बथनाहाबाट नेपालको बुधनगर हुँदै कटहरीसम्म आउने उक्त कार्गो रेल एकीकृत भन्सार चौकी (आइसीपी) भएर आउने व्यवस्था मिलाइएको छ ।
उक्त कार्गो रेल नियमित सञ्चालन भए सामान ल्याउन सहज हुने भए पनि हाल सञ्चालन नहुँदा पुरानै नाका जोगबनीबाट सामान ल्याउनु परेको उद्योगीहरु बताउँछन् ।
जोगबनीसम्म सामान ल्याएर फेरि ढुवानी गर्नुपर्दा लागत बढ्ने गरेको छ । तर आइसीपी हुँदै सामान ल्याउँदा र पठाउँदा भने केही सस्तो पर्ने जनाइएको छ ।
रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनियर रोशन देवका अनुसार कार्गो रेल आउनका लागि सबै पूर्वाधार तयार छ । पछिल्लो समय उद्योगी–व्यवसायीहरुले कार्गो मार्फत् सामान नमगाएकाले रेल सञ्चालन नियमित हुन नसकेको उनले बताए ।
कार्गो रेलमा सामान आएपछि आवश्यक जाँच गर्ने तथा भन्सार जाँचपासको काम गर्ने गरी व्यवस्था मिलाइएको छ ।
उक्त स्थानमा रेलवे यार्डबाट सामान आयात तथा निर्यात गर्नका लागि संरचना निर्माणको काम भइरहेको इन्टरमोडल विकास समितिले जनाएको छ । ५५ करोडको लगानीमा संरचना निर्माण धमाधम भइरहेको उल्लेख गर्दै समितिले निर्माण सकिएपछि अझ सहज हुने बताएको छ ।
उद्योगी रमेश राठीका अनुसार आइसीपीको रेलवे यार्डमा ल्याइएका सामान ओसार्न नेपाली नम्बरका पर्याप्त ढुवानी साधन नहुँदा समस्या परिरहेको छ ।
भारतको बथनाहादेखि कटहरीसम्म १८.१ किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु गरिएको थियो ।
यसअघि उक्त रेलमार्गको प्राविधि जाँच गर्नका लागि २०७५ कात्तिक ८ गते परीक्षण गरिएको थियो ।
१८ किलोमिटर रेलमार्गमध्ये भारतर्फ पाँच किलोमिटर पर्छ भने नेपालतर्फ भन्सार बिन्दुबाट १३ किलोमिटर क्षेत्र पर्छ ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट आउने गरेको छ । यसैगरी कतिपय तयारी वस्तु पनि भित्रने गरेका छन् ।
कार्गो रेल नियमित रुपमा सञ्चालन हुन सके औद्योगिक क्षेत्रका लागि सहज हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन् ।
सन् २०१ मा तत्कालीन राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा नेपाल र भारतको सीमा जोड्ने गरी देशका विभिन्न ५ स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार बथनाहा–कटहरी रेलमार्ग निर्माण गरिएको हो ।