}else{?>
काठमाडौं ।
मानव अधिकारका पक्षमा आवाज उठाउने संस्था शान्ति समाजले, विद्रोहि समुह हमासको आतंकवाद र इजरायलको उद्दण्डता विश्व शान्तिका लागि खतरा बनेको बताएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दैै समाजले, हमासले इजरायलमा आतंकवादी हमला गरेपश्चात मध्यपूर्वमा शुरु भएको युद्ध र त्यसको विस्तारप्रति समाजले चिन्ता व्यक्त गरेको छ ।
मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमितिकी महासचिव रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘७ अक्टोवर २०२३ का दिन हमासले इजरायलमा आतंकवादी हमला गरेपश्चात
मध्यपूर्वमा शुरु भएको युद्ध र त्यसको विस्तारप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गर्दछ ।’
समाजले हमासद्वारा प्रर्दशित बर्बरता आतंकवादको निकृष्ट उदाहरण भएको भन्दै इजरायलमा रहेका नेपालीसहित निहत्था नागरिकहरुको हमासद्वारा क्रुरतापूर्वक गरिएको जघन्य हत्याको जति निन्दा गरेपनि कम हुने जनाएको छ ।
यसैगरी सय भन्दा बढी निर्दोष नागरिकहरुलाई अपहरण गरी बन्धक बनाउने हमासको कृत्य आतंकवादको पराकाष्ठा भएको समाजले जनाएको छ ।
हमासको बर्बरताको प्रतिवाद गर्ने नाममा लाखौँ निर्दोष प्यालेष्टिनी जनतामाथि प्रदर्शन गरिने कुनै पनि प्रकारको बर्बरता मानवता विरुद्धको अपराध भएको भन्दै विज्ञप्तिमा थप भनिएको छ, ‘पछिल्लो चरणमा युद्धको शुरुवात आतंकवादी कृत्यबाट हमासले शुरु गरेको छ ।
प्यालेष्टिनी स्वराज आन्दोलनको प्रतिनिधित्व आतंकवादी हमासले गर्न सक्दैन ।
तसर्थ प्यालेष्टिनी स्वराजको नाममा हमासलाई बोक्ने काम कसैले पनि गर्नुहुदैँन र आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्छ ।’
समाजले इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउँदै मध्यपूर्वको उक्त समस्या समाधानका लागि अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
‘उत्तरी गाँजाका झण्डै ११ लाख बासिन्दालाई बस्ती छोड्न इजरायलले जारी गरेको फरमान, गाँजास्थित अस्पताल खाली गर्ने आदेश, अन्तर्राष्ट्रिय कानूनले निषेध गरेको घातक अस्त्रको प्रयोग, गाँजामा विजुली, पानी र खाद्यान्न आपुर्ती रोक्ने जस्ता अमानवीय नाकाबन्दी मानवता विरुद्धकै अपराधमा पर्दछ जस्को शान्ति समाज निन्दा गर्दछ ।
हमासको आतंकवाद र इजरायलको उद्दण्डता दुवै विश्व शान्तिका लागि खतरा भएको हुँदा आतंकवाद र उद्दण्डतालाई रोक्न र युद्ध अन्त्यका लागि विशेष पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई शान्ति समाज आग्रह गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।