}else{?>
काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
नयाँ नेतृत्व चुन्न काठमाडौंमा भेला भएका एनआरएनए प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ भने विदेशमा रहेका प्रतिनिधिले गए राति देखि नै अनलाइनबाट मतदान गरिरहेका छन् ।
अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला उम्मेदवार रविना थापाले उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन् । त्यसकारण अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।
एनआरएनएको ११औँ महाधिवेशनले अध्यक्ष, १ महिला र युवासहित ८ उपाध्यक्ष, १ महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।
७४ पदका लागि संसारभरबाट १ सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र १ महासचिवका लागि २ जनाबीच प्रतिस्पर्धा हुँदैछ । २ उपमहासचिवमा ५ जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ ।
अधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।