}else{?>
दशैँको बेलामा मासु खाएको मुखको स्वाद फेर्न वा शाकाहारीलाई स्वादिलो तरकारी खानेको लागि शैलुङमा फलेको काउली, बन्दा र गाँजर बजारमा आइपुगेको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा शैलुङका किसान अहिले काउली, बन्दा र गाँजर बेच्न व्यस्त छन् ।
दशैँको लागि काठमाडौं लगायत बजार केन्द्रमा शैलुङका स्वादिला तरकारी पुर्याउन व्यापारीहरू किसानको बारीमा पुगेका छन् ।
शैलुङका किसान बारीमा उत्पादन भएको बन्दा, काउली, गाँजर लगायतका तरकारी उठाउन र बिक्री गर्न व्यस्त छन् । चिसो हावापानीमा उत्पादन हुने तरकारी स्वादिलो र गुणस्तरीय हुने भएकोले जिल्ला सदरमुकाम मन्थली तथा काठमाडौं लगायत बजारमा शैलुङको तरकारीको राम्रो माग रहेको छ ।
बेसिजनको तरकारी भएकोले अहिले तरकारीको बजार भाउ पनि राम्रो छ ।
शैलुङमा किसानको बारीमा व्यवसायीले प्रतिकेजी ४० देखि ५० रुपैयाँको दरले काउली खरिद गर्ने गर्दछन् । त्यो काउली बजारमा पुग्दा १ सय २० देखि १ सय ५० रुपैँया किलोसम्म बिक्री हुने गरेको छ ।
बजार भाउ अनुसार किसानले उचित मूल्य नपाए पनि बारीबाटै तरकारी बेच्न पाउँदा किसानलाई सजिलो भएको शैलुङका किसान दावासङ्वु शेर्पा बताउँछन् ।
बारीमा लगाएको तरकारी जति पनि बिक्री हुन लागेपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका शेर्पाले बताए ।
‘अब शैलुङको पहिचान नै आलु र तरकारी भइसक्यो, किसानले आलु र तरकारी बाहेक अन्य बाली त लगाउनै छाडिसके’, उनले भने ।
व्यावसायिक रूपमा आलु उत्पादनबाट वार्षिक लाखौँ रुपैँया आम्दानी गर्ने शैलुङका किसान अब तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न लागेका छन्।,।
यस वर्ष शैलुङका किसानले ५० टन बढी काउली, बन्दा, गाजर लगायतका तरकारी बेच्ने अनुमान शेर्पाले सुनाए ।
शैलुङका अगुवा किसान समेत रहेका शेर्पाकै पहल र समन्वयमा शैलुङमा आधुनिक आलु बिउ उत्पादन घर समेत स्थापना भएर उन्नत जातको आलुको बिउ उत्पादन भइरहेको छ ।
त्यस्तै किसानलाई तरकारी खेती तालिम प्रदान गरी व्यावसायिक तरकारी खेती समेत सुरु भएको छ । जसले गर्दा शैलुङका किसानको आम्दानी उल्लेख्य वृद्धि भएको छ ।