संक्रमणकालीन न्याय प्रक्रिया सुरु गर्न माग गर्दै द्वन्द्वपीडित समुदाय आन्दोलनमा

काठमाडौं ।

द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रिया सुरु गर्न माग गरेका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै उनीहरुले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया तत्काल सुरु गर्नसरकार एवम् जिम्मेवार राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्वपीडितका सरोकार बमोजिम संक्रमणकालीन न्याय ऐन संशोधन गर्ने एवम् सक्षम तथा विश्वसनीय आयोग गठन गर्न सरकार र राजनीतिक दलहरुले आलटाल गरेकै कारण प्रक्रियामा अलमल भएको द्वन्द्वपीडित समुदायको आरोप छ ।

प्रदर्शनमा सहभागी भोजराज तिमलसिनाले जनयुद्धकालमा लुटिएको सम्पती अहिलेसम्म फिर्ता नगरेको भन्दै आक्रोस पोखे ।

द्वन्दपीडितहरुले नेपाल सरकारसँग सर्वोच्च अदालतका विभिन्न मितिका परमादेश अनुकूल हुने गरी संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधन गर्न एवम् स्वतन्त्र, निष्पक्ष, सक्षम र विश्वसनीय आयोगहरु गठन गर्न २०७१ सालमा आयोग गठन एवम् सर्वोच्च अदालतको परमादेश आएदेखि निरन्तर माग गर्दै आइरहेका छन् ।

पीडित समुदायले महासचिवको भ्रमण नेपालको अल्झिरहेको संक्रमणकालीन न्याय प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन सफल होस् भन्ने कामना समेत गरेको छ ।

प्रतिक्रिया