एनआरएन कार्यालयमा तनावः फोटो खिच्न खोज्दा पत्रकार शर्मामाथि हातपात

काठमाडौं ।

गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तनाव भएको छ ।
एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यक्रम भइरहेका बेला त्यहाँ पुगेका पत्रकारले फोटो खिच्न थालेपछि विवाद भएको र फोटो डिलेट गर्न भनेपछि युवासंघका कार्यकर्ताले हातपात गरेको पत्रकार ओम शर्माले बताए ।
पत्रकार शर्माको मुखमा चोट लागेको छ ।

चारदिशा डटकमका सम्पादक समेत रहेका पत्रकार शर्मा पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष हुन् ।
शर्माले भने ‘ म त्यहाँको कार्यक्रमबारे जानकारी लिन पुग्दा फोटो नखिच्न भन्दै आक्रमण भएको हो । म कुनै पनि पक्षको मान्छे होइन् । ’
उनले आफुले आफूमाथि आक्रमण गर्नेमाथि कारबाहीको मागगर्दै जाहेरी दिन दरबार मार्ग प्रहरी कार्यालय पुगेको जानकारी दिए ।
कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला आर के शर्मासहितको टोली पुगेपछि विवाद र हातपात भएको बद्री केसी समुहले बताएको छ ।
पराजित पक्षले वाईसिएल कार्यकर्ताको सहयोगमा केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको दाबी छ ।

पराजित पक्षले भने युवासंघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।

प्रतिक्रिया