}else{?>
काठमाडौं ।
पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ ।
आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पर्यटन बोर्डका सिइओ डाक्टर धनन्जय रेग्मीले जानकारी दिए ।
उनले नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको बताए । यसबाट दुई देशबीचको सम्बन्ध बलियो हुनुको साथै देशमा चिनियाँ पर्यटकहरुको आगमन बढ्ने विश्वास उनले व्यक्त गरे ।
उनले भने, ‘चिनियाँ पर्यटकहरुको संख्या नेपालमा बढ्दै गएको छ । चिनियाँ दूतावाससँग मिलेर कार्यक्रमहरु गर्ने हो भने त्यसले नेपालमा अझ बढी चिनियाँ पर्यटक तान्न सकिन्छ भन्ने बुझाइ लिएका छौ ।’
यो वर्ष चारवटा कार्यक्रम गर्न लागिएको उनले बताए । पोखरा विमानस्थलमा नियमित रुपमा उडान हुन नसकेको अवस्थामा एक–दुईवटा भएपनि उडान भइरहेको उनले उल्लेख गरे ।
यस्ता कार्यक्रम नियमित गर्न सके उडान पनि नियमित हुने उनले बताए । दुई देशको सम्बन्ध बलियो बनाउनको लागि यो खेलको आयोजना गरिएको जनाउँदै रेग्मीले प्रतियोगिताको पुरस्कार व्यवस्था चिनियाँ सरकारले नै गरेको जानकारी दिए ।
प्रतियोगिताका विजेता खेलाडीहरुका लागि कुल १८ लाख ३३ हजार नगद प्रदान गरिने छ । टिम इभेन्टतर्फ प्रथमलाई ३ लाख ६० हजार, द्वितीयलाई २ लाख ८८ हजार, तृतीयलाई २ लाख १६ हजार, चौथो हुनेलाई १ लाख ४४ हजार र पाँचौ हुनेलाई ९ हजार प्रदान गरिने छ ।
त्यसै, इन्डिभिजुलतर्फ प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः जनही नगद १ लाख ४४ हजार, १ लाख ८ हजार, ५४ हजार प्रदान गरिने छ भने चौथोदेखि सातौं स्थानमा आउने लाई जनही नगद १८ हजार, तथा आठौंदेखि दशौंसम्मलाई जनही नगद ९ हजारका साथ मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री रेस अन्तर्गत आयोजना हुने ५ किलोमिटर छात्र र छात्रा सडक दौडमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः जनही नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी सहभागीमध्ये २५औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई मेडल प्रदान गरिने छ ।
१८ वर्ष मुनिको उक्त दौडमा छात्रतर्फ २ सय छात्रातर्फ १ सय जना गरी ३ सय जनालाई सहभागी गराइन लागेको आयोजकले जनाएको छ ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडको बाराही घाटबाट सुरु हुने उक्त क्रस–कन्ट्री दौडमा टिम इभेन्टतर्फ २० टिमका ६० खेलाडी, इन्डिभिजुलतर्फ १ सय ४० खेलाडी र विद्यार्थी दौडतर्फ ३ सय जनाको सहभागिता हुने छ ।
क्रस–कन्ट्री अन्तर्गत ४० किलोमिटर दौड, साइक्लिङ र रोइङ हुनेछ । प्रतियोगिताका लागि १ सय ५० जना खेलाडीहरु चीनबाट सोझै विमान चार्टर गरी पोखरा आइपुग्ने छन् ।
बाराही घाटबाट सुरु हुने दौड छोरेपाटन, मट्टिखान हुँदै स्याङ्जा र कास्कीको सिमाना कुभिण्डे भञ्ज्याङ, उल्लेरी, भुम्दी, लुकुम्स्वारा हुँदै डुङामार्फत फेवाताल पार गरि बाराही घाट पुग्ने छन् ।