}else{?>
काठमाडौं ।
नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न उद्योग प्रतिष्ठानहरू र नेपाल विद्युत प्राधिकरणकाबीचको विवादले विद्युत कटौती हुँदा श्रमिकहरू मारमा पर्ने अवस्था बनेको भन्दै ध्यानाकर्षण गराएको छ । प्रजातन्त्रवादी श्रमिकहरूको महासंघ ट्रेड युनियनका महासचिव अजयकुमार राईले मंगलबार विज्ञप्तिमार्फत् उद्योगी र प्राधिकरणको विवादका कारण श्रमिकहरूलाई मारमा नपार्न आग्रह गरेका छन् ।
‘उद्योग, प्रतिष्ठानहरु बिजुलीको महसुल तिर्न नसक्ने भनिरहेका छन् भने प्राधिकरण जसरी पनि महसुल उठाउने, महसुल नतिर्ने उद्योग प्रतिष्ठानहरुको बिजुली काटिन थालेका छन् । हाम्रो दुवै निकाय, उद्योग तथा प्रतिष्ठान र प्राधिकरणलाई प्रश्न छ, यति लामो समयसम्म बिजुलीको महसुल भुक्तान गराउन प्राधिकरण किन अग्रसर भएन ? यति लामो समयसम्म उद्योग प्रतिष्ठानहरुले पनि किन बिजुलीको महसुल तिरेनन् ?,’ राईले विज्ञप्तिमार्फत् प्रश्न गरेका छन ।
उनले यस्तो घटनाक्रमले आमश्रमिकहरू नै मारमा पर्ने अवस्था बनेको भन्दै विवादित मुद्दा लामो समयसम्म अनिर्णयको बन्दी बनाउनु नहुने धारणा राखेका छन् ।
‘उद्योग प्रतिष्ठानहरु र प्राधिकरणबीच भएको विवाद के हो ? त्यसको सत्यतथ्य छानविन र सरोकारवाला पक्षहरु समेतलाई राखी तत्काल समस्याको समाधान निकाल्न सरकारलाई अनुरोध गर्दै श्रमिकहरुलाई काम गर्ने अधिकारबाट बञ्चित नगराउन सम्बन्धित सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।