}else{?>
दोलखा,
मैत्री, करुणा र शान्तिका मार्गदर्शक, विश्वका ज्योति बुद्धप्रति कृतज्ञता चढाउने, उहाँको शिक्षा पुनर्ताजगी गर्ने र प्रचारप्रसार गरेर मानवमात्रको जीवनमा सुख, शान्ती र समृद्धि ल्याउन विश्वभर हर्षोल्लासपूर्वक मनाईने एउटा पर्व हो बुद्ध जयन्ती ।
दोलखा जिल्लाको इतिहासमै पहिलो पटक सरकारी निकाय भीमेश्वर नगरपालिका २ नम्बर वडा कार्यालयले वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठको संयोजकत्वमा “२५६८औँ बुद्ध जयन्ती समारोह समिति” गठन गरेर ऐतिहासिक कार्यको थालनि गरेका छन्। बुद्ध जयन्ती तथा बुद्ध शिक्षाको बारेमा सम्पूर्ण वडावासीहरुलाई जानकारी दिने उद्देश्यले २ दिने “बुद्ध जयन्ती घरदैलो कार्यक्रम” को आयोजना गरिएको थियो। यसै पावन पर्वको उपलक्षमा विद्यार्थीहरुको चौतर्फि विकासको कामना सहित “बुद्ध शिक्षा र आजको सान्दर्भिकता” शीर्षकमा भीनपा माध्यमिक स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो।
बुद्ध जयन्ती पूर्व संध्यामा दीप प्रज्वलन गरि लामा गुरु नाम्गेल लामाबाट “दीप दान”को महत्व बारे प्रकाश पारी दीप दानमा सहभागिहरु सबैको दिवंगत माता, पिता तथा आफन्तहरुको स्वर्गमा वास होस् भनि प्रार्थना गरिएको थियो। त्यसपछि सहभागिहरु सबै लामवद्ध भई ऐतिहासिक शहर दोलखा भित्रका सबै चैत्य तथा मठ मन्दिरहरु परिक्रमा गरि शान्ति दीप यात्रा सम्पन्न गरिएको थियो।२०८१ साल जेठ १० गते बुद्ध जयन्तीको दिन बिहान सबेरै लामा गुरुबाट बुद्ध पुजा, धर्म देशना र भक्तजनहरुबाट बुद्ध दर्शन पश्चात बुद्ध प्रतिमा नगर परिक्रमा गरियो। प्रतिमा नगर परिक्रमा सकेर सहभागीहरुले तयार पारी राखेको प्रसाद भोजन ग्रहण गरी सकेपछि माननीय मन्त्री प्रकाश श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, वागमती प्रदेश)को प्रमुख आथित्यता, बौद्ध विद्वान डा. केशबमान शाक्यको विशेष आथित्यता तथा “२५६८औँ बुद्ध जयन्ती समारोह” का संयोजक एवं वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठको सभापतित्वमा बुद्ध जयन्ती समारोह संचालन भयो।
लामा गुरुको बुद्ध वचनबाट शुरु भएको उक्त कार्यक्रममा विशेष आतिथी बौद्ध विद्वान डा। केशबमान शाक्यबाट “सामाजिक समस्या समाधानः बुद्ध शिक्षाको योगदान” बिषयमा झण्डै २ घण्टा लामो व्यहारिक ज्ञानमूलक प्रस्तुति प्रस्तुत हुँदा गर्मिको कुनै प्रभाह नगरि सहभागीहरुले ध्यानपूर्वक सुनि रहेका थिए। त्यस पछि उपमेयर कमला बस्नेतबाट बुद्ध जयन्तीको शुभ(कामना व्यक्त गर्दै सबैलाई बुद्ध मार्गमा लागेर समाज सुखमय, शान्तिमय बनाउन जोड दिनु भयो। वक्तृत्वकलामा विजयी कुटीडांडा मावि, भीम मावि, कालिन्चोक मावि तथा राजकुलेश्वर आधारभूत स्कूलका विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट नगद, मेडल र प्रमाण(पत्र वितरण गर्नु भयो। प्रमुख अतिथि आफ्नो मन्तव्यको क्रममा समग्र जिल्ला तथा ऐतिहासिक शहर दोलखाको विषयमा केन्द्रित भएर बोल्दै विकासको लागि जागरुक हुन सबैलाई आह्वान गर्नु भयो। बुद्ध शिक्षाबाट समाज विकास गर्न, समाजको विकृति हटाउन र सुख शान्ति स्थापना गर्न सम्भव भएको विषयमा चर्चा गर्नु भयो। त्यसै गरि विश्वलाई डोर्याई राखेको बुद्ध शिक्षालाई सबै पालिकाहरुले आफ्नो पाठ्यक्रममा समावेश गर्न जोड दिनु भयो।
कार्यक्रमका सभापति स्टालिन श्रेष्ठले २५६८औँ बुद्ध जयन्ती आफू वडा अध्यक्ष भएको बेलामा जिल्लामै पहिलो ऐतिहासिक बुद्ध जयन्तीको रुपमा भव्यताका साथ आयोजना गर्न पाएकोमा गर्वको महशुस गर्दै बुद्ध शिक्षाको माध्यमबाट आफ्नो वडावासीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन लागि पर्ने बताउनु भयो। पर्तमान परिवेशमा विद्यार्थीहरुको उज्ज्वल भविष्य तथा असल नागरिक उत्पादन गर्न वडा भित्रको हरेक स्कूलमा बुद्ध शिक्षा सिकाउन पहल गर्ने बताउनु भयो। अन्तमा २५६८औँ बुद्ध जयन्तीलाई हर्षोल्लासपूर्वक भव्यताकासाथ सफल पार्न व्यस्तताका वावजुद लामो बाटोमा दुःखको प्रवाह नगरि पाल्नु हुने प्रमुख अतिथि तथा विशेष अतिथिगण, सक्रिय भूमिका निवारण गर्ने पद्मवर्ण बुद्ध महाविहार दोलखा, सह(आयोजक कालिन्चोक युवा क्लब तथा वराणसी सहयोगी हातहरु लगायत अन्य संघ संस्थाहरु, दान दिई सहयोग गर्नु हुने सम्पूर्ण दानवीर पुण्यवान व्यक्तित्वहरु तथा पत्रकारी मित्रहरुलाई धन्यवाद ज्ञापन गर्दै अर्को सालको २५६९औँ बुद्ध जयन्ती थप प्रभावकारी कार्यक्रमहरु सहित भव्यताका साथ मनाउन आह्वान गर्दै सभा विसर्जन गर्नु भयो। उक्त कार्यक्रम पद्मवर्ण बुद्ध महाविहारका स्थानिय संयोजक श्री भगवान दाश श्रेष्ठले संचालन गर्नु भएको थियो।
फोटो फिचर: